0Shares

October 31-

Commemorating, nay, CELEBRATING 500 Years of the Reformation!!!

धर्मसुधार आन्दोलनका ५०० वर्षः पाखण्डी पोप, जङ्गली बनेल, र मार्टिन लुथर

“जङ्गलको बनेलले त्यसलार्ई नष्ट पार्न पसेको छ, र मैदानका जङ्गली जनावरहरू त्यसमा चर्छन् ।” —भजन ८०:१३

पोप लियो दशौँले सन् १५२० मा मार्टिन लुथरलाई चर्च नष्ट गर्ने विद्रोही र मारिन लायकको जङ्गली बनेलसँग तुलना गर्दै जारि गरेको घोषणा पत्रमा यो पद उद्ध्रित गरिएको छ । चर्चमा व्याप्त भ्रष्टाचार, व्यभिचार र कुप्रचारलाई हटाउने पवित्र उद्देश्य लिएका, शान्तिपूर्वक, ईश्वरशास्त्रीय र प्राज्ञिक बसहमार्फत विकृतिलाई विकृति प्रमाणित गरी रोमन क्याथोलिक संरचना र मतभित्रै रही अगि बढ्न चाहेका लुथरलाई डर, त्रास र धम्की प्रयोग गरी उनका सत्य मुद्दालाई दमन गर्न खोज्दा धर्मसुधार आ-न्दोलनले व्यापक रूप लियो र आजको दिनसम्म राोमन क्याथोलिक सम्प्रदाय र त्यसभन्दा बाहिरका अन्य समप्रदायका माझमा विभाजन कायम रहेको छ ।

हो, लुथरभन्दा २०० वर्ष पहिले नै जोन विक्लिफ, १०० वर्ष पहिला जान हुस, अनि इंग्ल्याण्डका समकालीन विलियम टिन्डेल जस्ता ध्मसेवक, ईश्वरशास्त्री तथा विद्वानहरूले आवाज उठाएका थिए, र धेरै हदसम्म बाटो तयार पनि पारेका थिए । तर तात्कालीन् राजनीतिक परिस्थिति लगायत प्रिन्टिङ प्रेसको उपलब्धता तथा जर्मन जनताको व्यापक साथ र सहयोगका कारण लुथरको पालामा मात्र रोमन क्याथोलिक चर्चभित्रैबाट आएका भिक्षुले त्यहाँ भित्रका कर्तुत एक–एक गरी उजागर गरे, जसको साक्षी सारा संसार नै बन्नपुग्यो ।

इतिहास नभूलौँ अनि हाम्रो अति पवित्र विश्वासको परम्परा कसरी मानवीय परम्पराभन्दा उत्तम र प्राचीन हो भन्ने कुरा हामी पनि नभूलौँ । लुथरलाई दोषी ठहर्याई, उनलाई चर्च समुदायबाट बहिस्कृत गरी उनीसँग कुनै प्रकारको सम्बन्ध वा उनीप्रति कुनै सहानुभूति नराख्ने चेताउनीसाथ पोपको आदेशमा लाहाछाप लगाई पक्का गरिएको उक्त घोषणा पत्रका मुख्य अंशहरू यहाँ अनुवाद गरिएका छन्ः

“हे प्रभु, खडा हुनुहोस्, र आफ्नो पक्षमा न्याय गर्नुहोस् । दिनैभरि मूर्खताले भरिएकाहरूमाथि तपाईंका दण्डहरू सम्झनुहोस् । हाम्रा प्रार्थनाहरू सुन्नुहोस्, किनकि फ्याउराहरू दाखबारी नष्ट गर्न जागेका छन् जसको दाख पेल्ने कोल तपाईंले मात्र कुल्चनुभएको छ । तपाईं आफ्ना पिताकहाँ जानलाग्नुहुँदा, पत्रुसलाई शिर, तपाईंको प्रतिनिधि र उत्तराधिकारीका रूपमा दाखबारीको हेरचाह, शासन र प्रबन्धको जिम्मा लगाउनुभयो, जुनचाहिँ विजयी चर्चको प्रतिरूप हो । जङ्गलको बनेलले त्यसलार्ई नष्ट पार्न पसेको छ, र मैदानका जङ्गली जनावरहरू त्यसमा चर्छन् ।

हे पत्रुस, उठ्नुहोस्, र माथि उल्लेख गरिएझैँ तपाईंलाई सुम्पिएको यो पास्टरीय जिम्वारी पूरा गर्नुहोस् । पवित्र रोमन चर्चको पक्षमा विचार गर्नुहोस् जो सबै चर्चहरूको आमा अनि विश्वासको शिक्षक हो, जसलाई तपाईंले परमेश्वरको आदेशद्वारा तपाईंको रगतले पवित्र गर्नुभएको छ । तपाईंले चेताउनी दिनुभएझैँ रोमी चर्चको विरुद्धमा झूटा शिक्षकहरू बढ्दै छन्, जसले विभाजन ल्याउँदैछन् र आफैँमाथि विनाश निम्त्याउँदैछन् । तिनीहरूका जिब्राहरू आगो, नरोकिने दुष्टता, र घातक विष हुन् । तिनीहरूमा तीतो उत्तेजना छ, तिनीहरूको हृदयमा झगडा छ, अनि तिनीहरू सत्यताको विरुद्धमा घमण्ड गर्छन् र झूट बोल्छन् ।

हे पावल, हामी तपाईंलाई पनि बिन्ती गर्छौं । तपाईंको शिक्षा र पत्रुसको जस्तै शाहदत्वद्वारा तपाईंले चर्चलाई प्रबुद्ध र प्रकाशमान बनाउनुभयो । किनकि अब फेरि एउटा नयाँ प्रोफेरी खडा भएको छ, जसले पहिलोले पवित्र प्रेरितहरूलाई बाधा पुर्याएझैँ, अहिले हाम्रा पवित्र पोप, हाम्रा पिताहरूलार्ई बाधा पुर्याउँछ ।”
लियो दशौँले त्यसपछि लुथरका ९५ बुँदामध्ये ४१ वटा बुँदालाई गलत ठहरयाउँदै यसरी आधिकारिक खण्डन गरेका थिएः

“हाम्रा आदरणीय दाजुभाइको सल्लाह र सहमति, माथि उल्लिखित हरेक बुँदामा परिपक्व छलफल, अनि सर्वशक्तिमान् परमेश्वरको अख्तियार, धन्यका प्रेरितहरू पत्रुस र पावल, अनि हाम्रो आफ्नै अधिकारद्वारा, हामी यी हरेक बुँदालाई विधर्मी, लज्जास्पद, झूटो, भक्तजनका कानमा बिझाउने, वा सोझा समझ भएकाहरूलाई फसाउने, अनि क्याथोलिक चर्चको विरुद्धमा गएकाले गलत ठहर्याउँछौँ, रद्द गर्छौं र सम्पूर्ण रूपमा इन्कार गर्छौं…हामी सबैलाई पवित्र आज्ञाकारितामा रही उक्त विधर्मीसँग कुनै प्रकारको सम्बन्ध नराख्न सचेत गर्छौं…अन्यथा जो कसैले पनि बहिस्कारको दण्ड भोग्नुपर्नेछ ।”

उक्त अज्ञापत्रले मार्टिन लुथरका सबै कथनलाई समेत इन्कार गरेको छ, याद राखौँ, केहीलाई मात्र होइन, तर लुथरका सबै लेखोट र प्रचारलाई । यस अर्थमा, क्याथोलिक चर्चको नजरमा रिफर्म्ड मत मान्ने कोही पनि, भन्ने हो भने क्याथोलिक चर्चबाहिर रहेको हरेक व्यक्ति अहिले पनि दोषी, विधर्मी र जङ्गली सुँगुरकै स्तरमा छ । पोपको आदेशअनुसार, लुथरका सही गलत सबै कथनहरू नष्ट गरिनुपर्ने थियो, उनको नामोनिशान मानवजातिको स्मृतिबाट सदाका लागि मेटाइनुपर्नेथियो । तर त्यसको विपरित, लुथर आज विश्वमै आदरणीय व्यक्तिका रूपमा ग्रहण हुँदैगएका छन् । बरु त्यस्तो आदेश जारी गर्ने पोप र तिनका अग्रज तथा उत्तराधिकारीहरूको बदनामी प्रकट हुँदैछ ।

“… त्यसैगरी हामी त्यो मार्टिनका सबै पुस्तक, लेखोट, प्रवचन, चाहे ती ल्याटिन भाषामा हुन् वा अन्य कुनैमा, तिनमा माथि भनिएका गल्ती वा तीमध्ये कुनै एउटा गल्ती छ भनी गलत ठहर्याउँछौँ, रद्द गर्छौं र सम्पूर्ण रूपमा इन्कार गर्छौं । स्त्री वा पुरुष हरेकलाई पवित्र अज्ञाकारितामा रही उसको कुरा पढ्न, वाचन गर्न, प्रचार गर्न, छाप्न, प्रकाशन गर्न, वा प्रतिरक्षा गर्न मनाही गर्छौं । अन्यथा त्यसमाथि माथि उल्लिखित दण्ड स्वत आइपर्नेछ…वास्तवमा, यो पत्र प्रकाशित हुनासाथ, त्यसका सबै लेखोट र प्रचारहरू जहाँसुकै भेट्टाइए तापनि आम जनता र धर्माधिकारीहरू सबैबाट खोजिनुपर्छ अनि धर्माधिकारीहरू र जनताको उपस्थितिमा सार्वजनिक रूपमा जलाइनुपर्छ ।”

कुनै अचम्मको कुरा होइन, संस्थागत सिद्धान्तमा असहमत हुँदा वा केही साधारण अभ्यास भिन्न हुँदा जलाएर मृत्युदण्ड दिन नहिचकिचाउने रोमन क्याथोलिक चर्चले लुथरका सबै कृति र प्रवचन जलाउने आज्ञा दियो । त्यति मात्र होइन, लुथरलाई सोधपुछ र अफ्नो बचाउमा बोल्न दिने बहानामा रोममा बोलाएको पनि थियो । तर त्यो बेलासम्ममा लुथर तथा उनका मित्रहरूलाई रोमको कपट थाहा भइसकेको कारण उनी रोम गएनन् । बरु मित्रहरूको सहयोगमा जर्मनीमै सुरक्षित स्थानमा लुकी बसे, जहाँबाट उनले नयाँ करारलाई ल्याटिनबाट जर्मन भाषामा अनुवाद गरे, अनि चर्चको बेबिलोनी कैद जस्ता पुस्तक पनि लेखे ।
पा. जोन म्याकअर्थरले भनेझैँ, चर्चमाथि अन्तिम र सर्वोच्च अख्तियार कसको हुने भन्ने विषय धर्मसुधार अन्दोलनको एउटा अति महत्वपूर्ण मुद्दा थियो । पोप, परिषद् र पापल आदेशहरू बाइबल जत्तिकै बाध्यकारी हुनासाथ परमेश्वरको वचनभन्दा पछिबाट गरिने व्याख्या बढी अख्तियारपूर्ण बन्ने अवस्था सृजना भयो ।
मूल रूपमाः परमेश्वरको अनुग्रहद्वारा विश्वासमार्फत उद्धार, परमेश्वरकहाँ सबै मानिसको समान पहुँच, सबै मुद्दामा बाइबलको अख्तियारको सर्वोच्चताको पक्षमा, अनि पोप र अन्य धर्माधिकारीका सामु पाप पश्चात्ताप गरेपछि पाप क्षमा हुने र पापपूर्ण जीवन जिउन छुट पाइने, मरिसकेका मानिसहरूका आत्माको छुटकाराको निम्ति पैसा तिरेर मुक्ति किनिदिन सकिने जस्ता अबाइबलीय र मानवकेन्द्रित व्याख्याको विरुद्धमा थियो मार्टिन लुथरको असहमति । त्यसैका लागि उनले सर्वप्रथम त जनसामान्यले नबुझ्ने, तर शिक्षित र बाइबलका विद्वानहरूले मात्र बुझ्ने ल्याटिन भाषामा आफ्ना बुँदा लेखेर प्राज्ञिक बहस र बौद्धिक तर्कवितर्कका लागि ढोका खोलेकै थिए । तर सत्यताको भर नभएको, आफ्नो अधिकार र शासनसत्ता गुम्ला भनी त्रसित पोपको साम्राज्यले त्यस्तो बहसको सामना गर्ने आँट गरेन । वा दुई पटकसम्म प्रयास गर्यो, थर्काएर लुथरलाई उनका कुरा फिर्ता लिन बाध्य बनाउन प्रयत्न गर्यो, तर लुथरको धर्मशास्त्र र तर्कसम्मत विचारका अगाडि नाजवाफ भयो, नराम्ररी हार खायो । अनि सिधै लुथरलाई विधर्मी र ख्रीष्टयन जगतको शत्रुका रूपमा घोषणा गर्यो ।

यसरी तात्कालीन् चर्चले आफ्नो गल्ती स्वीकार गर्नुभन्दा झूट र बलको प्रयोग गरेर पापमै रहने निर्णय गरेकोमा दुःख लाग्छ । तर गर्वका साथ भन्नुपर्छ, परमेश्वरलाई धन्यवाद होस्, कि झूट र अबाइबलीय अभ्याससँग सम्झौता गर्नुभन्दा बरु लुथरले जीवनको बाजी राखेरै भए पनि सत्यताको पक्षमा वकालत गर्ने साहस गरे । पोप र तिनका भारदारहरूले बुझे वा बुझेनन्, वा आफ्नो प्रार्थनाको जवाफ पाएको अनुभव गरे वा गरेनन्, थाहा छैन । तर आज पश्चदृष्टिमा हामी बुझ्छौँः सत्य र असत्य बिचको त्यो संघर्षमा परमेश्वर खडा हुनुभयो, उहाँले पक्ष लिनुभयो, न्याय गरिदिनुभयो । भलै लुथरलाई रोमन क्याथोलिक चर्चले विद्रोही र जङ्गली बँदेलको रूपमा चित्रित किन नगरेकोहोस् । तर वास्तवमा आज हामीले आ–आफ्ना मातृभाषामा बाइबल पढ्न पाउने, एकै केन्द्रिकृत र कुनै बहस छलफल गर्न नपाइने चर्चको साम्राज्यबाट छुटकारा, अनि विवेक र विश्वासको व्यक्तिगत हक जस्ता आधुनिक नागरिक अधिकार कुनै न कुनै रूपमा उनै मार्टिन लुथरले सुरुआत गरेको धर्मसुधार आन्दोलनबाट प्रभावित छन्, त्यससँग सम्बन्धित छन् । भनाइ नै छ, येशू ख्रीष्ट र पावलपछि ख्रीष्टिय जगतलाई सबैभन्दा बढी प्रभाव पार्ने एक मात्र व्यक्ति मार्टिन लुथर नै हुन्, र उनको भूमिका विचार गर्दा त्यो स्वाभाविक पनि देखिन्छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *