यरूशलेम र परमेश्वरको मन्दिर (Jerusalem and the Temple Mount)
0Shares

May 17-

अहिले इजराएल र प्याफेस्टाइनका बिचमा विवादको विषय रहेको स्थान यरूशलेम, परमेश्वरको मन्दिर, अल अक्सा मस्क, डोम अभ द रक आदिका बारेमा यो लेखले केही प्रकाश पार्नेछ भनी हामीले यसलाई यहाँ प्रस्तुत गरेका छाैंः सम्पादक

“तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर त्यहाँ बसोवास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ । तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाइ छान्नुभएको ठाउँमा मैल तिमीहरूका होमबलि बलिदानहरू, तिमीहरूका दशांंश, विशेष भेटीहरू र तिमीहरूले आफ्ना परमप्रभुको निम्ति भाकल गरेका असल असल थोकहरू ल्याउनु । अनि तिमीहरू, तिमीहरूका छोरा-छोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्नो निजी हिस्सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्वरको सामु आन्नद मनाउनू ।”

१९६७ मा जब इसा्रएलीहरूले मन्दिर पुनः नियन्त्रणमा लिए, तब ती भक्त यहूदीहरूको मुटुको धडकन जोडले धड्किन थाल्यो । के मन्दिर पुनर्निर्माण गरिने क्षण यही हो ? यदि हो भने, कुन ठाउँमा ?

यरूशलेम
यरूशलेमको खास विशेषता के हो त ? परमप्रभुले यसलाई आफ्नो नाउँको खातिर वासस्थान बनाउने निणर्य गर्नुभएको छ । अन्नत परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ताले आफ्नो वासस्थानको निम्ति त्यस स्थानलाइ रोज्नुभयो । त्यहाँ उहाँको पवित्र पर्वत (यशैया ११ः९, ५६ः७, ६५ः११, सपन्याह ३ः११) सियोन पर्वत (योएल २ः१, ३ः१७) छ, जहाँ परमेश्वरले आफ्नो वासस्थान तय गर्नुभएको छ (भजन ७४ः२ ) । त्यहाँ नै याकूबका परमेश्वरको वासस्थान (यशैया २ः३), परमप्रभुको घर छ (इजकिएल ८ः१४, १६, योएल १ः१३-१४ मिका ४ः१-२, हाग्गै १ः१४) जब मन्दिर निर्माण गरियो र सोलोमनद्वारा मन्दिरको अर्पण गरियो, “परमप्रभुको मन्दिर बादलले भरियो अनि पूजाहारीहरूले त्यहाँ बादल भएको हुनाल सेवा गर्न सकेनन्, किनभने परमप्रभुको महिमा (सेकेन्याह) ले मन्दिर भरिएको थियो” (१ राजा ८ः१०-११) । परमप्रभु चाहिँ मन्दिरको महापवित्र स्थानमा वास गर्नुहुन्थ्यो । उजाडस्थानमा पहिलेका यात्राहरूमा जसरी उपस्थित हुनुहुन्थ्यो, त्यसैगरी उहाँ बादलमा पनि उपस्थित हुनुहुन्थ्यो र परमप्रभुका महिमाले पवित्र वासस्थान भरिन्थ्यो (प्रस्थान ४०ः३४-३८) ।

निश्चयनै सोलोमनलाई कुनै पनि प्रकारको ढुङ्गाद्धारा निर्मित मन्दिरमा परमेश्वरालाई सीमित गर्न सकिँदैन भन्ने कुरा थाहा थियो । समर्पणको समयमा उनल सोधे, “तर के परमेश्वर निश्चय नै पृथ्वीमा वास गर्नुहुन्छ र ? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ !”¬¬ (१ राजा ८ः२७) । यशैयाले पनि यो कुरा बुझेका थिए जब उनले परमेश्वरको नाउँमा यी शब्द बोलेका थिए, “स्वर्ग मेरो सिहांसन हो र पृथ्वीचाहिँ मेरो पाउदान हो”¬¬ ¬¬ (यशैया ६६ः१), अनि येशूले पनि स्वर्ग परमेश्वरको सिंहासन र पृथ्वी उहाँको पाउदान भनी सम्बोधन गर्दा यिनै शब्दहरू दोहोर्‍याउनुभयो (मत्ती ५ः३३-३४) । तरै पनि प्रभु आफैले पृथ्वीमा यरूशलेमलाई आफ्नो वासस्थान हुनको निम्ति चुन्नुभयो ।

आश्चर्यमय तरिकाले मिश्रदेशबाट प्रस्थान गरी लाल समुद्र पार गरेपछि मोशाले जुन गीत गाए, त्यसमा यी शब्दहरू समावेश गरिएका थिएः “तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ । त्यस ठाउँमा, हे परमप्रभु जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो, त्यही पवित्रस्थानमा, हे परमप्रभु जो तपाईंका बाहुलीहरूले स्थापना गरे” (प्रस्थान १५ः१७) । पछि उनले इस्राएलीहरूलाई यसो भने “परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थान बनाउन छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमाराकमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहराटुहुरी र तिमीहरूका माझमा बस्ने विधवाहरू सबैले आफ्ना परमेश्वरको सामु आन्नद मनाउनू” (व्यवस्था १६ः११) । विदेशीहरूका लािग पनि मन्दिरमा स्थान वा हिस्सा थियो, जुन कुरा सोलोमनले गरेको समर्पणको प्रार्थनाद्वारा स्पष्ट हुन्छः “तपाईंका प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढा देशबाट आएको छ भने किनभने मानिसहरूले तपाईंको महान् नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेका पाखुराको विषयमा सुन्नेछन्, जब त्यो आएर यस मन्दिरतिर फर्केर प्रार्थना गर्छ भने तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस् र त्यस विदेशीले मागेको कुरा दिनुहोस् ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जानून् र भय मानून् र मैले बनाएको यस भवनमा तपाईंको नाउँ राखिएको छ भनी जानून्” (१ राजा ८ः४१-४३) ।

परमेश्वरले उक्त स्थान चुन्नुहुन्छ
परमेश्वरको मन्दिरको ऐतिहासिक स्थानको बारेमा हामीलाई के थाहा छ त ? हामीलाई थाहा छ कि सोलोमनले यरूशलेम, मोरिया डाँडामा त्यो मन्दिर निर्माण गरेका थिए (२ इतिहासमा ३ः१) । यो त्यही मोरिया डाँडा थियो जहाँ अब्राहाम इसहाकलाई परमप्रभुको निम्ति बलिदान गर्न तयार भएका थिए, तर त्यसको सट्टामा परमेश्वरले तिनलाई एउटा भेडा जुटाइदिनुभयो (रोमी ८ः३२) । यो डाँडाका बारेमा अब्राहामले यसो भनेका थिए, “परमप्रभुले जुटाउनुहुन्छ । परमप्रभुको डाँडामा जुटाइनेछ भनी आजपर्यन्त भनिन्छ” (उत्पत्ति २२ः१४) । मन्दिर भएको ठाउँको विशेषता अनुग्रह हो । यो मानिसहरूले परमेश्वरको लागि जुटाइदिने ठाउँ होइन (जसरी अन्य देवहरूका धेरै मन्दिरहरूमा त्यस्तो देखिन्छ) । यहाँ त परमेश्वरले आफ्ना  मानिसहरूका खाँचोका लागि जुटाउनुभयो (१ राजा ८ः३१-५३) ।

Temple Mount- all major religions have immense interest there

मन्दिर रहेको स्थान, सियोन पर्वत, र मोरिया डाँडा एउटै ठाउँ हुन् । १ मक्काबी १४ः२६ बाट उक्त मन्दिर र सियोन पर्वतका बिचमा रहेको सम्बन्ध स्पष्ट हुन्छः “उनीहरूले यो कुरा (शिमोन मक्काबीका उपलब्धीहरूको विवरण) काँसाका पत्रमा लेखे र त्यसलाई सियोन पर्वतमा स्तम्भहरूमा राखे ।” पद ४८ ले पनि यही कुरा दोहोर्‍याउँछः “यो उर्दी काँसाको पाटीमा लेखेर मन्दिरमा स्पष्ट देखिने गरी राख्नुपर्छ भनी उनीहरूले आदेश दिए ।” तर त्यो मन्दिर किन त्यहाँ थियो त ?

मोशाले “परमप्रभु परमेश्वरले आफ्नो नाउँको वासस्थान बनाउन छान्नुहुने” (व्यवस्था १६ः२, ११, १५) भनी त्यो ठाउँ परमेश्वरले नै चुन्नुहुने थियो भनी स्पष्ट पारेका थिए । सोलोमनले बताएअनुसार परमेश्वरले आफ्नो छनोट धेरैपछि मात्र राजा दाऊदलाई थाहा दिनुभयोः “‘मेरो प्रजा इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याएको दिनदेखि यसो इस्राएलीहरूका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ रहनलाई एउटा मन्दिर बनाउन भनी मैले रोजेको छैनँ, तर मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले दाऊदलाई छानेको छु’ । परमप्रभुका नाउँको निम्ति, इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो । तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ । तापनि तैंले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो छोराले, जो तेरो आफ्नै मासु र रगतको हो, त्यसले नै त्यो मेरो नाउँको निम्ति बनाउनेछ’ । (र अब) मैले त्यहाँ परमप्रभुका करारको सन्दूकको लागि एउटा ठाउँ अलग्गै राखेको छु, जुन करार हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुँदा उहाँले तिनीहरूसँग बाँध्नुभएको थियो’” ¬(१ राजा ८ः१६-२१, २ शमूएल ७ः१-१७) । सोलोमनले मन्दिर निर्माण त गरे, तर सबै तयारी भने दाऊदले नै गरेका थिए, जसरी उनले सोलोमनलाई बताएका छन्ः “ज्यादै दुःख उठाएर मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, जोख्नै नसकिने काँसा र फलाम जोहो गरिराखेको छु । काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । तैंले त्यसमा अरू थप्न सक्छस् । त्यसबाहेक तँसित धेरै कारीगर, डकर्मी, ढुङ्गा काट्ने, सिकर्मीहरू, अनि सुन, चाँदी, काँसा र फलामका सबै किसिमका काम गर्ने अनगन्ती निपुण मानिसहरू पनि छन् । यसैकारण अब काम सुरु गर्, र परमप्रभु तँसित होऊन्” (१ इतिहास २२ः१४-१६) । दाऊदले मन्दिर बन्नुपर्ने ठाउँ पनि पहिचान गरेका थिए । आफ्नो हृदयअनुसारको मानिस दाऊदलाई चुन्नुहुँदा परमेश्वरले आफ्नो चुनाउ गर्नुभएको थियो, अनि दाऊदले परमेश्वरले चाहनुभएअनुसार गरे । परमेश्वरले दाऊदको हृदयलाई प्रेरित गर्नुभयो अनि यसरी दाऊदको चुनाव परमेश्वरको चुनाव बन्यो ।

भजन १३२ मा दाऊदले भनेका थिएः “मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्ना पलकहरूलाई झिमिक्क पनि हुन दिनेछैनँ, जबसम्म परमप्रभुको निम्ति एउटा स्थान, याकूबका सर्वशक्तिमान्को निम्ति एउटा निवासस्थान म भेट्टाउँदिनँ” (भजन १३२ः४-५) । यरूशलेम नै त्यो शहर बन्नेवाला थियो जहाँ परमप्रभुले आफ्नो नाम स्थापित गर्न रोज्नुभयो (२ इतिहास १२ः१३) । उहाँको उत्तराधिकारको पर्वत नै परमप्रभुले आप्mनो बासस्थान बन्न रोज्नुभएको थियो (प्रस्थान १५ः१७, १ राजा ११ः३२, ३६, १४ः२१) । “किनभने परमप्रभुले सियोनलाई छान्नुभएको छ, उहाँले त्यसलाई आफ्नो निवासको निम्ति चाहनुभएको छ । ‘यो सदाकालको निम्ति मेरो विश्रामस्थान हो, म यहाँ सिंहासनमा बस्नेछु, किनकि मैले यही चाहेको छु’” (भजन १३२ः१३-१४) । भजन १३२ ले स्पष्ट रूपमै बताउँछ कि परमेश्वर, दाऊद, र तिनका सन्तानहरू, यरूशलेम, र (मोरियाह) डाँडाका बिचमा अटुट सम्बन्ध छ ।

त्यो ठाउँमा नै मन्दिर रहनुपर्ने थियो भन्ने कुरा दाऊदलाई थाहा थियो, किनकि उनको पापको कारण इस्राएलमा विनाश ल्याउने स्वर्गदूतलाई उनले त्यहीँ देखेका थिए । “जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, ‘बस, भयो । तिम्रो हात थाम ।’ त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए” (२ शमूएल २४ः१६) । सियोन पर्वत एउटै मात्र पहाड नभएर पर्वत श्रंखला भएको कारण, परमप्रभुले आफूले चुन्नुभएको खास ठाउँ पनि देखाइदिनुभयो, अर्थात् खला ।

अगमवक्ता गादले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउन दाऊदलाई निर्देशन दिए (२ शमूएल २४ः१८) । दाऊदले त्यो खला यत्तिकै कब्जा गरेनन्, तर यबूसी अरौना (वा अर्नान) बाट किनेर लिए (२ शमूएल २४ः१८-२५) । उनले खलाका लागि पचास चाँदीका सिक्का तिरे, तर वेदी बनाउनुपर्ने ठाउँको लागि चाहिँ उनले छ सय सुनका सिक्का तिरे (१ इतिहास २१ः२४-२५) । सुन मात्र परमप्रभुको लागि षेग्य थियो, किनकि यो धातुले परमेश्वरको महिमालाई संकेत गथ्र्यो । स्वर्गबाट आगो वर्षाएर परमप्रभुले त्यो ठाउँको छनोटलाई पुष्टि गरिदिनुभयोः “त्यसैमा तिनले होमबलि र मेलबलि चढ़ाए, र परमप्रभुका नाउँको पुकारा गरे । अनि परमप्रभुले स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो” (१ इतिहास २१ः२६) ।

मोशाले भनेका थिए कि परमेश्वरले आफ्नो वासस्थान आफै चुन्नुहुनेथियो, अनि आफ्ना सेवक दाऊदद्वारा परमेश्वरले यरूशलेम शहर र सियोन पर्वत चुन्नुभएको थियो । अनि २ इतिहास ३ः१ ले भन्दछः “तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँडामा ¬(जहाँ अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भएका थिए र परमप्रभुले अर्कै बलिदान जुटाइदिनुभएको थियो, उत्पत्ति २२ः१-८) परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे ।”

जब सोलोमनले निर्माण गरेको मन्दिर अर्पण गरिँदैथियो “जब पूजाहारीहरू पवित्रस्थानबाट बाहिर आए, तब परमप्रभुको मन्दिर बादलले भरियो । अनि पूजाहारीहरूले त्यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन् किनभने परमप्रभुको महिमाले मन्दिर भरिएको थियो” (१ राजा ८ः१०-११) । परमप्रभु मन्दिरको महापवित्र स्थानमा वास गर्नुहुन्थयो । पहिला उजाडस्थानमा इस्राएलीहरू यताउता यात्रा गर्दा जसरी उहाँ बादलमा उपस्थित हुनुहुन्थ्यो, त्यसरी अहिले पनि उहाँ पवित्र वासस्थानलाई ढाक्ने बादलमा उपस्थित हुनुहुन्थ्यो । प्रस्थान ४०ः३४-३८ ले भन्दछ, “तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । आफ्ना सबै यात्राहरूमा, जब त्यो बादल पवित्र वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू अगि बढ्थे । तर त्यो बादल माथि उठेन भने, जुन दिनसम्म त्यो माथि उठ्दैनथ्यो तिनीहरू हिँड्दैनथे । तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो ।” हो, सोलोमनलाई थाहा थियो कि परमेश्वरलाई ढुंगाले बनेको मन्दिरमा सीमित गर्न सकिँदैन । तथापि, मन्दिर अर्पणको समयमा उनले यस्तो प्रश्न गरेका थिए, “तर के परमेश्वर निश्चय नै पृथ्वीमा वास गर्नुहुन्छ र ? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ !”¬¬ (१ राजा ८ः२७) । परमेश्वरको नाउँमा बोल्दा यशैयालाई पनि यो कुरा थाहा थियो, “परमप्रभु यसो भन्नुहुन्छ, ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो’” (यशैया ६६ः१) । येशूले पनि स्वर्गलाई परमेश्वरको सिंहासन, पृथ्वी उहाँको पाउदान, अनि यरूशलेम महान् राजाको शहर भन्नुहुँदा (मत्ती ५ः३४-३५) तिनै शब्द दोहोर्‍याउनुभयो । त्यसो भए तापनि, परमप्रभु स्वयंले यरूशलेमलाई पृथ्वीमा आफ्नो वासस्थान बनाउन चुन्नुभयो ।

    Al Aqsa mosque

विनाश र पुनर्निर्माण
दाऊदले तयारी गरे । सोलोमनले निर्माण गरे । नबूकदनेसरले नष्ट गरे । (२ इतिहास ३६ः१९) । बेबिलोनी कैदपछि, यरुबाबेलले दोस्रो मन्दिर निर्माण गरे (१ इतिहास ३ः१९, एज्रा २ः२, ३ः२, ८, ४ः२-३) । त्यो मन्दिर एउटा उर्दीमार्फत निर्माण गरिएको थियो भन्ने कुराभन्दा बाहेक त्यसका बारेमा अरू कुरा केही थाहा छैनः “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ” (एज्रा १ः२) । यरुबाबेलको नाम प्रभु येशूको वंशावलीमा देखापर्छ (मत्ती १ः१२), अनि बेबिलोनी निर्वासनपछि हाग्गै र जकरिया अगमवक्ताहरूले पनि उनको नाम उल्लेख गरेका छन् (हाग्गै १ः१-२, १२-१४, जकरिया ४ः६-१०) । हाग्गैले उनलाई परमप्रभुको छाप-औंठी भनेका छन् । यरुबाबेलले निर्माण गरेको मन्दिर सोलोमनको भन्दा धेरै सानो र कम सुन्दर थियो (एज्रा ३ः१२), अनि त्यहाँ महापवित्रस्थानमा करारको सन्दूक पनि थिएन । त्यसकारण त्यहाँ कृपाआसन पनि थिएन जहाँ बलिदानका पशुको रगत छर्कन सकियोस् । यहूदी परम्पराअनुसार त्यहाँ एउटा ढुंगा थियो जहाँ प्रायश्चितको दिनमा प्रधान पूजाहारीले धूप बाल्दथे ।

धेरै वर्षपछि, होरोद महानले यहूदीहरूको मन जित्नका लागि त्यो सानो मन्दिरका वरिपरि सुन्दर भवनहरू निर्माण गरिदिए । त्यस्ता निर्माण कार्यहरू सम्पन्न हुँदानहुँदै सन् ७० मा रोमीहरूले त्यो मन्दिर नष्ट गरे । कतिपयका अनुसार, सन् १३० मा बार कोक्बाको समयमा (जसले सम्राट हेड्रिएनले त्यो मन्दिर पुननिर्माण गर्ने वचन पूरा नगेरको कारण तिनको विरुद्धमा यहूदी विद्रोह मच्चाएका थिए) एलिएजर नामक प्रधान पूजाहारी नियुक्त आराधनाको व्यवस्था मिलाई एउटा सानो मन्दिर निर्माण गरिएको थियो । तर सन् १३५ मा हेड्रिएनले फेरि यरूशलेम नियन्त्रण गरे, बार कोक्बाले निर्माण गरेको मन्दिर नष्ट गर्‍यो, अनि यसको स्थानमा जुनो, जुपिटर र मिनर्भा नामक देवदेवीहरूको मन्दिर स्थापना गर्‍यो । यरूशलेमको नाम एलिया क्यापिटोलिना राखियो, अनि यो एक रोमी किल्ला बन्नपुग्यो । अनि इस्राएलको नाम यसका प्राचीन शत्रु पलिस्तीहरूका नाममा प्यालेस्टाइन राखियो ।

सन् ३६३ मा स्वधर्मत्यागी सम्राट जुलिएनको पालामा मन्दिर पुननिर्माणको सपना फेरि जागृत भयो । त्यसका लागि आवश्यक आर्थिक स्रोत तथा निर्माण सामग्री जुटाइसकिएको थियो, तर निर्माण कार्य सुरु हुनुभन्दा अगिल्लो दिन १९ मे ३६३ मा त्यहाँ ठूलो भूकम्प आयो । भूमिगत ग्यास विष्फोट भयो अनि निर्माण सामग्री सबै आगोले नष्ट हुनपुग्यो । यसरी त्यो मन्दिर निर्माणको योजना विफल भयो । सम्राज्ञी युदोसियाको (४४३ मा यरूशलेममा बसोवास गरिसकेका थियोदोसियस द्वितीयसँग विवाहित) समयमा पनि मन्दिर पुननिर्माणको आशा जागृत भयो, तर सफल भएन । ६१४ मा यहूदीहरूले हेराक्लियस नाम एक ख्रीष्टियन कैसरलाई परास्त गर्न पर्सियनहरूलाई सहायता गरे, यसकारण उनीहरूलाई मन्दिर पुननिर्माण गर्न अनुमति दिइयो । पर्सियन राजा कोस्रोस द्वितीयले नहेम्याह नामक एक यहूदीलाई यरूशलेमका प्रशासक नियुक्त गरे, अनि इतिहास दोहोरिएला जस्तो देखिन्थ्यो । त्यसभन्दा पहिला पनि यरूशलेमका पर्खालहरू अर्का पर्सियन राजाको अनुमतिमा अर्का यहूदी नहेम्याहद्वारा निर्माण गरिएका थिए (नहेम्याह २ः१-१०) ! छोटो समयको लागि (६१४-६१७), यहूदीहरूमाथि पर्सियन शाहको अनुग्रह रह्यो, तर पछिबाट (सम्भवत ख्रीष्टियन दबावको कारण) तिनले आफ्नो मन बदले अनि त्यो मन्दिर कहिल्यै बनेन । अझै दुःखको कुरा त, पर्सियनहरूले यहूदीहरूलाई यरूशलेमबाट धपाए, अनि जब पन्ध्र वर्षपछि हेराक्लियसले यरूशलेम फेरि नियन्त्रणमा लियो र मन्दिर रहेको पर्वतमा आठकुने चर्च निर्माण गर्‍यो, तब मन्दिर निर्माणको सबै आशा समाप्त भयो ।

सन् ६३८ मा इश्लामिक सेनाले पवित्र भूमि कब्जा गर्‍यो अनि ६९१ र ६९२ का बिचमा खलिफ अब्देल मलिकले त्यो अष्टकोण चर्चको स्थानमा अष्टकोण डोम अभ द रक

Dome of the Rock

भनिने ओमारको मस्जिद बनायो । त्यो सुनले मोहोरिएको त्यो मस्जिदको गुम्बज यरूशलेमको आकाशमा अत्यन्तै स्पष्ट रूपमा देखिन्छ । त्यो मस्जिदमा कुरानको एउटा पद लेखिएको छः ‘अल्लाको पुत्र हुँदैन’, जुन स्पष्ट रूपमा ख्रीष्टियनहरू र विशेष गरी यूहन्ना ३ः१६ को विरुद्धमा लक्षित छ जहाँ यस्तो लेखिएको छः “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र (जन्माइएका) पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” पहिलेको मन्दिरको चोकको अर्को छेउमा चाहिँ अल अक्सा मस्जिद बनाइयो । यो मस्जिदबाट शुक्रवारका धार्मिक भेलाहरूमा अक्सर यहूदीहरूप्रति घृणा प्रचार गरिन्छ, तिनीहरूप्रति घृणा जसलाई बाइबलले परमेश्वरको जेष्ठ पुत्र, उहाँको आँखाको नानी भन्दछ । दुवै मस्जिदहरू प्राचीन यहूदी र ख्रीष्टियन पवित्र स्थलमाथि खडा गरिएका छन्, अनि शताब्दीयौँदेखि तेस्रो यहूदी मन्दिरको अवधारणा असम्भव सपनाको रूपमा रहिआएको छ ।

त्यसपछि ७ जुन १९६७ मा मोशे डायनको नेतृत्वमा इस्राएली सेनाले यरूशलेम फेरि नियन्त्रणमा लियो । तर त्यही दिन तिनले डोम अभ रकको छानाबाट यहूदी झण्डा निकाल्ने आदेश दिए, अनि १७ जुन १९६७ मा तिनले मन्दिरको डाँडालाई वाक्फ नामक इश्लामिक समूहको हातमा सुम्पिदिए । यसरी फेरि कुनै समय परमेश्वरको मन्दिर रहेको स्थान यहूदीहरूका लागि प्रतिबन्धित छ । यहूदीहरू त्यहाँ प्रार्थना गर्न समेत जान पाउँदैनन्, तर विलापको पर्खाल वा कोटेल अर्थात् हेरोदले बनाएको चोकको पर्खालको एक भग्नावशेष, पश्चिमी पर्खालको फेदसम्म मात्रै जान सक्छन् ।

Courtesy: C4i

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *