चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

माघ २६, काठमाडाैं ।
राष्ट्रिय मानव अधिकार आयोगले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सरकारलाई चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । आयोगको फेसबुक पेजबाट यो पाठः
चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न निर्देशन
विगत दुई हप्तादेखि छिमेकी राष्ट्र चीनको हुवेई प्रान्तमा रहेका करीब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको “नोबेल कोरोना भाइरस” को संक्रमणबाट सन्त्रस्त भइरहेको र उनीहरूको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै निजहरूको अविभावकहरूद्वारा आयोग समक्ष पेश गरिएको ज्ञापन–पत्र एवं नेपाली नागरिकको जीवन रक्षाको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ ।
चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसको कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेका छन् ।
आयोगको आजको आकष्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको छ । साथै, उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।
अतः चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ ।
……………….
वेद भट्टराई
सचिव/प्रवक्ता