क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरवीर पण्डितले माफी मागेका छन् ।
केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरेपछि व्यापक आलोचना भएको थियो । सो पश्चात उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् ।
कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उद्देश्य अभिनय मात्रै गर्ने थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ती गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीबाट हुन्न ।’
माफी माग्दै उनले अबदेखि आफ्नै धर्म संस्कार र संस्कृतिको जगेर्नामा लाग्ने समेत बताएका छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक भिडियो सन्देश जारी गर्दै यस विषयमा माफी मागेका हुन् ।
‘आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिनअगाडि मैले दुई वटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ’, उनले अगाडि भने–‘त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बाबुआमा, दाजुभाइ दिदी बहिनीले मन दुखाउनुभएको छ ।’
उनले आफ्नो उद्देश्य कसैको पनि मन दुखाउने नभएको समेत स्पष्ट पारेका छन् । ‘सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्म संस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकूँ’ उनले थपे ।
केही दिन अगाडि सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीको अभिनय रहेको ‘बेला छँदै आऊ’ को गीत सार्वजनिक भएको थियो । गीतको भिडियो धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै सुरवीर र रामचन्द्रमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ ।






